वर्षा र हिमपात हुनसक्ने भन्दै मौसम विभागले दियो यस्तो चेतावनी

काठमाडौं । आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ।

उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ।

विभागले चेतावनी तथा परामर्श जारी गदै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं एकका एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्