राप्रपालाई राजसंस्था, हिन्दू राष्ट्र र गाई चिन्ह हटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था, हिन्दु राष्ट्र र चुनाव चिन्हमा रहेको गाई हटाउन निर्देशन दिएको छ।

राप्रपालाई निर्देशनात्मक पत्र पठाउँदै निर्वाचन आयोगले विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनेको हो।

आयोगले गत माघ २ गते राप्रपालाई पठाएको पत्रमा संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रनातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भक्न्ने वाक्यांश हटाउन निर्देशन दिएको छ।

यस्तो वाक्यांशसहितको विधान सात दिनभित्र पेश गर्न पनि निर्देशन दिइएको छ। यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ। राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनस्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको पार्टी हो।

‘नेपालको राष्ट्रिय झन्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाईलगायत राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनैलाई दिइएको भए पुनरावलोकन गर्ने निर्णय भएकाले झन्डाको मध्य भागमा गाई चिन्ह भन्ने वाक्यांश हटाउन हुन,’ पत्रमा भनिएको छ।

राप्रपाले उक्त पत्रका बारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर, राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने ट्वीट गर्दै आयोगको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित भएको बताएका छन्। आफूले विगतमा आयोगको यस्तै निर्देशनलाई अस्वीकार गरेको उल्लेख गर्दै पार्टीको वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया नजनाउनु र पत्र लुकाएर राख्नु आश्चर्यजनक भएको समेत थापाले बताएका छन्।

यसअघि आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्गसंघर्ष, साम्यवादजस्ता शब्द हटाउन निर्देशन दिएको थियो।

 

कमेन्ट गर्नुहोस्