मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर पुनः अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँकी छोरीले शनिबार जानकारी दिनुभएको छ।

पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताउनुभयो। उहाँ ९६ वर्षको हुनुहुन्छ।

महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ। मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ।

करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किनुभएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो।

छोरी मरिनाले भन्नुभयो, “उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले उपचारपछि बुवाको शरीरमा सुधारको सकारात्मक सङ्केत देखिएको बताएका छन् । अहिले उहाँको अवस्था स्थिर रहेको छ।” पूर्व प्रधानमन्त्री महाथिरको परिवारले शुभेच्छुकहरूलाई उहाँको स्वास्थ्यमा पूर्ण सुधारका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको छ।

महाथिरले यस पहिले डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा विताउनुभएको थियो। पछिल्ला वर्षहरूमा उहाँलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छन्। यसका कारण उहाँलाई पटक पटक हृदयघात भएको र अहिले उहाँको बाईपास सर्जरी भइरहेको छ।

महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्वमध्ये एक हुनुहुन्छ। उहाँले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गर्नुभएको र दुई पटक गरी २४ बर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसक्नुभएको छ।

उहाँले सन् १९८१ देखि २००३ सम्म मलेसियालाई नेतृत्व दिनुभएको थियो। मलेसियामा भ्रष्टाचारले व्यापक जरा गाडेको समय उहाँलाई पछि सन् २०१८ मा ९२ वर्षको उमेरमा राष्ट्रवादी गठबन्धन समूहले पुनः प्रधानमन्त्री बनाएको थियो तर सत्ता सङ्घर्षका कारण उहाँको गठबन्धन सरकार सन् २०२० मा भङ्ग भएको थियो। उहाँलाई मलेसियाको सुधारका लागि राष्ट्रनायकका रूपमा हेर्ने गरिन्छ।

कमेन्ट गर्नुहोस्