यमनी जेलमा हवाई आक्रमणमा परी कम्तीमा ७० बढीको गयो ज्यान, आफूले हमला नगरेको साउदीको दावी

साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनकोे उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो सम्लग्नता नरहेको दावी गरेको छ।

यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन्। प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो।

सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्ने गरी भएको भनिएको उक्त आक्रमणमा गठबन्धनको सम्लग्नता नरहेको र यसमा आफूहरूलाई दोषी देखाउन गरिएका प्रचार आधारहीन रहेको जनाएको छ।

आक्रमणपछि उद्धारकर्ताहरूले खाली हातले भग्नाबशेषमा रहेका मृत शरीर र घाइतेलाई बटुलेको दृष्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

होडेडाको यमनी बन्दरगाहमा भएको गठबन्धनको आक्रमण भएको हुनसक्ने यस आक्रमणमा तीन नाबालकसहित दर्जनौँको मृत्यु भएको भन्ने खबरप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघका महासचिबले घटनाको भत्र्सना गर्नुभएको छ।

मानवीय सहायताका लागि यमनमा कार्यरत विभिन्न आठ संगठनले जारी विज्ञप्तिमा यमनको विद्रोही नियन्त्रित क्षेत्र सादामा रहेको जेलमा भएको आक्रमणमा ७० भन्दा बढी व्यक्तिको ज्यान गएको दावी गरिएको छ। उक्त स्थानलाई आप्रवासीहरूलाई राख्ने आश्रयस्थलका रूपमा प्रयोग गरिएको विज्ञप्तिमा जनाइएको छ।

“हुथी लडाकूले गठबन्धनलाई बदनाम गर्न अपनाएका यी दाबीहरूमा सत्यता छैन,” गठबन्धन सेनाका प्रवक्ता तुर्की अल–माल्कीले घटनामा इराननिकट हुथी विद्रोहीहरू कै सम्लग्नता रहेको हुनसक्ने संकेत गर्दै भन्नुभयो।

संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको बताउने गरेको यमनमा दशौं हजार मानिसको ज्यान गइसकेको र लाखौं विस्थापित भइसकेको र द्वन्द्वले यो हप्ता नाटकीय उतारचढाव ल्याएको छ।

विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानालाई कब्जा गरेपछि मार्च २०१५ मा अमेरिका, फ्रान्स र बेलायतद्वारा समर्थित साउदी नेतृत्वले यमनी हुथी नेतृत्व विरूद्ध हस्तक्षेप गरेको थियो। गठबन्धनले यमनमा केही हप्ता मात्र हुथीविरूद्ध कारबाही गर्ने भनिए पनि अहिलेसम्म द्वन्द्व जारी रहेको छ।

यमनको अजेय, सात वर्षे युद्धमा भएको नवीनतम हिंसा गत सोमबार इरान समर्थित हुथीहरूले गठबन्धन सहयोगी संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा पहिलो घातक आक्रमण भएको दाबी गरेपछि भएको थियो।

हुथीहरूले तीन जनाको ज्यान लिने ड्रोन र क्षेप्यास्त्र आक्रमण भएको दाबी गर्दै युद्धलाई नयाँ चरणमा लगेका बताएका थिए। युएईले आफ्नो सीमाभित्र पहिलो घातक आक्रमण भएको स्वीकार गर्दै यसको वदला लिने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्