सीता दाहालको स्वास्थ्यमा समस्या, आइसियूमा उपचार हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहाललाई कोरोना संक्रमण भएपछि मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ।

अध्यक्ष प्रचण्डको सचिवालयले जनाएअनुसार तीन दिनअघि कोरोना संक्रमण देखिएपछि उनको स्वास्थ्यमा समस्या देखिएको हो। प्रचण्डका निजी सचिव तथा छोरी गंगा दाहालका अनुसार संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन्।

उनलाई हाल अस्पतालको सघन कक्षमा राखेर उपचार गरिरहेको निजी सचिव रमेश मल्लले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। मल्लले सचिवालयका तर्फबाट लेखेका छन्ः

हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा आदरणीय अध्यक्ष कमरेड प्रचण्डको जीवनसाथी, हाम्रा आदरणीय आमा सीता दाहालको स्वास्थ्य प्रतिकुलताका कारण विगत तीन दिन देखि अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको छ। उहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
– अध्यक्ष कमरेडको सचिवालय

कमेन्ट गर्नुहोस्