जनस्वास्थ्य विद्यार्थी संघकाे प्रश्न: सिटामाेलकाे कृत्रिम अभाव सिर्जना गर्नेमाथि किन कार्वाही भएन ?

नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोलको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कार्वाहीको माग गरेको छ ।

सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुःखद् भएको संघले जनाएको हो । कोभिड–१९ संक्रमण दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव रहेको छ। तर यस्तो समयमा समयमा सरकार त्यसको नियन्त्रणमा लाग्नुपर्नेमा जनताले सिटामोलसम्म पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखद रहेको संघका महासचिव अमृत बिष्ट र अध्यक्ष सुमित बोहराद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।

‘स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले बजारमा सिटामोलको अभाव नभएको जिकिर गरिरहेको छ। हामी प्रश्न गर्न चाहन्छौं, सिटामोलको अभाव कुन बजारमा छैन?’, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले समायोजन गरेको पिसिआर परीक्षण शुल्क सरकारी अस्पतालहरूले समेत कार्यान्वयन नगरेको संघका महासचिव अमृत बिष्टले बताए। सरकारी निर्देशनको पालना नगर्ने अस्पताललाई कारबाही गर्न संघको माग छ।

कमेन्ट गर्नुहोस्