काठमाडौं । साताको पहिलो दिन स्वभाविक कारोबार भएको शेयर बजारमा दोश्रो दिन सोमबार भने ठूलो पहिरो गएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, यस दिन ३.४३ प्रतिशत घटेको हो।
बजार खस्किँदा नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा पुगेको छ । यो केही महिना यताकै उच्च गिरावट हो । यस दिन सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.१९ अंक घटेको छ। यस दिन २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटकको कारोबारमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ज्योति लाइफ, गोर्खाज फाइनान्स, सानिमा लार्ज क्याप फण्ड, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य सामान्य बढेको छ।
आज कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढी र अरुण भ्याली हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन्।
एक सय अंक माथिले नेप्से घट्दै गर्दा आज कारोबार भने झण्डै ९ अर्ब हाराहारीको भएको छ । नेप्सेका अनुसार यस दिन बजारमा कुल ८ अर्ब ८८ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ ।
गत आइतबार १० अंकले घटेको बजारमा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो ।