युद्द निम्त्याउँदै अमेरिका र नाटोः पूर्वी यूरोपमा पठायो थप लडाकु जहाज र सामग्री

काठमाडौं । रुसले आक्रमण गर्ने प्रचार गर्दै अमेरिका र नाटोले ठूलो मात्रामा सैन्य सामग्री पूर्वी यूरोपका देशमा तैनाथ गरेको छ ।

रुसले भने आफूले युक्रेनमा अतिक्रमण गर्न नखोजेको कुरा बारम्बार बताउँदै आएको छ । यता अमेरिका र सहयोगी देशले भने रुसले आक्रमण गर्न खोजेको भन्दै पूर्वी यूरोपमा ठूलो संख्यामा लडाकु पोत र जहाज तैनाथ गरेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भने आफूले युक्रेनमा नाटोका सैन्यशक्ति परिचालन नगर्ने बताएका थिए । तर घोषणा विपरित अमेरिका र सहयोगी निकायले युद्धको माहौल सिर्जना गर्न खोजेका छन् ।
“नाटोले रुसको आक्रमण विफल पार्न आवश्यक सबै तयारी गरेको छ । यसका लागि पूर्वी क्षेत्रमा गठबन्धनका देशहरुलाई समेत उत्प्रेरित गरेको छ ।” नाटोका महासचिव जेन्स स्टोलबर्गले एउटा वक्तव्यमा भनेका छन, “हामी सैन्य गठबन्धनलाई अझै बलियो बनाउन सबै सहयोगी देशहरुलाई उत्प्रेरित गर्न चाहन्छौं ।”

युक्रेनमा वर्ष २०१४ मा सत्तापलट भएपछि त्यहाँका जनताले वर्तमान सरकारको बिरोध गरेका छन् । अमेरिकाले भने उक्त सरकारलाई समर्थन गर्दै आएको छ । अमेरिकाको दलाल बनेको भन्दै एउटा ठूलो समूहले सोही बेलादेखि सरकारको विरोधमा सशस्त्र संघर्ष समेत गर्दै आएको छ । यो समूहलाई रुसले समर्थन गरेको बताइन्छ ।

अर्कोतर्फ रुसले सोझै जर्मनी हुँदै यूरोपमा ग्यास र तेलको पाइपलाइन अघि बढाएपछि अमेरिका लगायत यूरोपका देशहरु सशंकित बनेका हुन । त्यसैले उनीहरुले रुसलाई घेराबन्दी गर्न युक्रेन युद्दको सहारा लिएका छन् ।

रुसले भने आफूले पूर्वी यूरोपमा नाटोको सैन्य प्रभाव कम गर्नुपर्ने र युक्रेन, रुस लगायतका देशलाई स्वतन्त्ररुपमा बाँच्न दिनुपर्ने बताउँदै आएको छ ।

यसैबीच अमेरिका, बेलायत र यूरोपियन यूनियनले युक्रेनमा रुसले हमला गर्न सक्ने भन्दै आफ्ना सबै नागरिकलाई स्वदेश फर्किन आव्हान गरेको छ । रुसले भने यो कार्यलाई कायरतापूर्ण र जबर्जस्ती युद्द थोपर्न चाहेको भन्दै आलोचना गरेको छ ।

कमेन्ट गर्नुहोस्