१५ सय शिक्षकका लागि ३६ हजारको आवेदन

काठमाडौं । माध्यमिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढी आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ।

एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको आयोगले जनाएको छ। माघ ८ गतेसम्म मावि तहको शिक्षक पदको लागि आवेदन समयावधि तोकेको थियो।

आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन्।

निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्रावि तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन्। निमावि तहमा दोब्बर दस्तुरसहित १५ गतेसम्म आवेदन भर्न सकिने छ।

प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ। निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो।

आयोगले मावितर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ।

कमेन्ट गर्नुहोस्