काठमाडौं । झण्डै ४ महिना लामो उपचारपछि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वदेश फर्किएका छन्। पुन हिमालयन एयरलाइन्सको कार्गो जहाजमा चीनको कुनमिङबाट सोमबार साँझ ८ बजे काठमाडौं आइपुगेका हुन्।
क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन पुस २० गते मंगलबार अपराह्न सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्।
केही समय चीनमै बसेर फ्लोअप गरेका नेता पुन निको भएपछि डाक्टरहरुको सल्लाहअनुसार नेपाल फकिएका छन्। उपचारका क्रममा सँगै गएकी पुनकी जीवनसाथी तथा पूर्वसभामुख ओनसरी घर्ती पनि सँगै फर्किएकी छिन्।
विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले आफू पूर्ण रुपमा निको भएर फर्किएको बताए। आफू बिरामी हुँदा उपचारका लागि पहल गर्ने तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नेता पुनले अब आफू पार्टी काममा लाग्ने बताए। आफू बिरामी हुँदा पार्टीका विभिन्न तहमा नयाँ नेतृत्व चयन भएको र आफू सहभागी हुन नपाए पनि विभिन्न माध्यामबाट जानकार रहेको भन्दै नेतृत्वमा आएका सबैलाई बधाई व्यक्त गरेका थिए।
नेपाल फर्किएका नेता पुनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज, केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी, माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री, पूर्व विद्यार्थी नेता रञ्जित तामाङलगायत पुगेका थिए।
नेता पुनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा ३९ दिन र बैंककको समितिभेज अस्पतालमा ५९ दिन लामो उपचार भएको थियो। लामो समय बस्दा पनि बैंककमा सुधार नभएपछि थप उपचारका लागि पुनलाई चीन सरकारको सहयोगमा सेनजेन लगिएको थियो।
बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै साढे ३ महिनादेखि उपचार गराइरहेका नेता पुन जण्डिस दोहोरिएपछि गत असोज १३ गते बैंककतर्फ लागेका थिए। नेपालमा हुँदा उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो।