महासचिवमा मेरो दावी स्वभाविक– वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पार्टीको पदाधिकारीमा सहमतिको प्रयास गरिने र त्यसो नभएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

४ महिना लामो उपचारपछि स्वदेश फर्केका नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विगतमा पार्टी सचिवको जिम्मेवारी पूरा गरेको हिसाबले स्वभाविक रुपमा महासचिवमा आफ्नो दावी हुने बताएका हुन्।

पार्टीका सबै तहमा एक खालको समझदारीमा गरेर नेतृत्व चयन गरेका छौं। त्यसैले पदाधिकारीमा पनि सहमति नै हुन्छ भन्ने विश्वास छ, उनले भने, ‘सहमतिबाट जे हुन्छ, त्यो म मान्छु तर प्रतिस्पर्धामा जाने अवस्था भए विगतमा सचिव भएर काम गरेको हुँदा महासचिवमा स्वभाविक दावी रहन्छ।’

बिरामी भएको हुँदा आफूले पार्टीको महत्वपूर्ण महाधिवेशन र सबै तहका सम्मेलनहरु गुमाएकोमा दुःख लागेको पुनले बताए। महाधिवेशनमा आफू सहभागी हुन नसके पनि पार्टीको कार्यदिशा र कार्यक्रम निर्माणका साथै नेपाली विशेषतासहितको समाजवादको बाटो स्पष्ट गर्न महाधिवेशन सफल भएको बताए।

‘पार्टीको कार्यदिशा निर्माण र कार्यदिशासँगै कार्यक्रम निर्माण गर्ने र नेपाली विशेषताको समाजवादको बाटो स्पष्ट गर्ने कुरामा महाधिवेशन सफल भएको छ, त्यसप्रति मेरो पूर्ण समर्थन छ, उनले भने, ‘यसलाई कार्यान्वयन गर्नेमा सम्पूर्ण पार्टी पंक्ति एक भएर लाग्नेछ, त्यसमा सक्रिय भएर लाग्ने मेरो प्रतिबद्धता व्यक्त गर्दछु।’

अहिलेको सत्ता गठबन्धन संविधानको रक्षा, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरुको संरक्षण गर्नका लागि बनेको भन्दै मूल उद्देश्यप्रति प्रतिबद्ध भएर मात्रै गठबन्धन सफल हुने बताए। ‘गठबन्धनमा विचार, राजनीति र कार्यदिशा मिलाएर मिल्दैन, पार्टीका आफ्नै कार्यक्रम र प्राथमिकता छन्,’ पुनले भने, ‘गठबन्धन मिल्ने भनेको संविधानको रक्षा र उपलब्धि बचाउने हो, त्यसैले देशको कार्यक्रममा केन्द्रित भएर काम गर्नुपर्दछ।

अबको मुख्य प्राथमिकता तीनै तहका निर्वाचन सम्पन्न गर्ने, विकास निर्माण, राष्ट्रियता, स्वाधीनताका मुद्धाहरुलाई अगाडि बढाउनुपर्ने भन्दै पुनले मूल एजेण्डाबाट कोही पनि बाहिर जान नहुने बताए।

लामो समय उपचार गर्दा शारिरीक रुपमा थकान र कमजोर भएको भन्दै नेता पुनले उपचारका लागि सहयोग गर्ने चिनियाँ कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, सरकार, समन्वय गर्ने परराष्ट्र मन्त्रालयलगायत शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

झण्डै ४ महिना लामो उपचारपछि नेता पुन हिमालयन एयरलाइन्सको कार्गो जहाजमा चीनको कुनमिङबाट सोमबार साँझ ८ बजे काठमाडौं आइपुगेका हुन्।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा ३९ दिन र बैंककको समितिभेज अस्पतालमा ५९ दिन लामो उपचार भएको थियो। लामो समय बस्दा पनि बैंककमा सुधार नभएपछि थप उपचारका लागि पुनलाई चीन सरकारको सहयोगमा सेनजेन लगिएको थियो।

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै साढे ३ महिनादेखि उपचार गराइरहेका नेता पुन जण्डिस दोहोरिएपछि गत असोज १३ गते बैंककतर्फ लागेका थिए। नेपालमा हुँदा उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो।

कमेन्ट गर्नुहोस्