कति छ कर्णालीका मुख्यमन्त्री शाहीकाे सम्पत्ति, बैकमा करोड बढी माैज्दात, ८ ठाउँमा जग्गा (सूचिसहित)

सुर्खेत । कर्णालीका मुख्य मन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ त ? मुख्यमन्त्री बनेदेखि हिजाेसम्म यो सार्वजनिक भएको थिएन ।

त्यसो त मुख्यमन्त्री शाहीले गत पुष ८ गते नै सम्पत्ति विवरण बुझाएका हुन । तर मुख्यमन्त्री कार्यालयको वेभसाइटमा भने हिजो मात्रै उनको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री शाही नेपाली कांग्रेसको संसदीय दलका नेतासमेत हुन ।

बैंक मौज्दात

मुख्यमन्त्री शाहीको सम्पत्ति हेर्दा उनी धनी मुख्यमन्त्रीका रुपमा देखिन्छन् । उनले सिटिजन्स बैंकमा २५ लाख, सानिमा बैंकमा ३८ लाख र एनआइसी एसिया बैंकमा १४ लाख गरि ७७ लाख बैंक मौज्दात देखाएका छन् ।

यसैगरी उनकी पत्नी बसन्ती शाहीको नाममा सिटिजन्स बैंकमा १५ लाख, एनआइसी बैंकमा १६ लाख गरि ३१ लाख रुपैयाँ देखाइएको छ । आम्दानीको श्रोतकारुपमा भने उनले पारिश्रमिक, व्यवसाय र जग्गा विक्रीबाट यो पैसा कमाएको जनाएका छन् ।

मुख्यमन्त्रीकी पत्नी बसन्ती नेपाल सरकारको कर्मचारी थिइन्। उनी हाल कर्णाली प्रदेश लोक सेवा आयोगको सदस्य पनि छन्।

यतिमात्रै होइन, उनीहरुले १२ लाख रुपैयाँ अरुको नाममा पनि राखेका छन् । शुभचिन्तकसँग २०५० सालदेखि बचत भएको उनले जनाएका छन् । ती शुभचिन्तक को हुन भन्ने खुलाइएको छैन ।

अचल सम्पत्ति हेर्दा शाही दम्पत्तिसँग ५६ तोला सुन रहेको छ । त्यो पुख्यौली सम्पति रहेको र व्यापार तथा व्यवसाय गर्दाकै बेलादेखिको भएको उनलेउल्लेख गरेका छन् । यसैगरी २ किलोग्राम चाँदी, नवरत्न र औंठी गरी ३ लाख बराबरको सम्पति पनि उनीहरुको छ।

जग्गा जमिन

मुख्यमन्त्री दम्पतिका नाममा आठ ठाउँमा जग्गा छन्। हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ। मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३।७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ।

काठमाडौं महानगरपालिका १६ मा ३३०।७५ वर्गमिटर जग्गा र त्यसमा घर रहेको सम्पत्ति विवरणमा पेश गरिएको छ। व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उनले खुलाएका छन्।

साथै हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा पनि छ। बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा छ। उनका नाममा नेपालगञ्जमा पनि जग्गा रहेको छ। तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन।

यीमध्ये केही पुख्यौली सम्पति र केही आफूले खरिद गरेको शाहीले बताएका छन्।

पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८।२५ वर्गमिटर जग्गा र घर छ। साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ।

शेयर

मुख्यमन्त्री शाहीका नाममा बजार मूल्यमा आधारित १३ हजार कित्ता साधारण शेयर रहेको छ। जसमध्ये चिलिमे जलविद्युत् आयोजनाको २ हजार ६०० कित्ता, ज्योति विकास बैंकको १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता रहेको छ।

ऋण

मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणमा एक करोड ७२ लाख ऋण देखाइएको छ। जुन किस्तामा तिरिरहेको उल्लेख गरिएको छ।

व्यक्तिसँग ४० लाख र ज्योति विकास बैंकमा १ करोड ३२ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरिएको छ।

सवारीसाधन

उनीसँग गाडी छ। जसको खरिद मूल्य ९५ लाख उल्लेख गरिएको छ। उक्त गाडी २०७१ सालमा खरिद गरिएको थियो।

 

 

 

कमेन्ट गर्नुहोस्