बुवा एमाले प्रदेश कमिटी सदस्य, छोरा अखिल नेताः परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा राजनीतिक व्यक्तिको परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो।

कैलाली लम्कीचुवा-१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको छ।

उनीहरुले सामूहिकरूपमा मिलेमतो गरी इ स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो।

विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा रु नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा रु पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा रु २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा रु एक करोड ६४ लाख ११ हजार १०० बराबरको रकम भित्रिएको पाइएको छ।

अनुसन्धानका क्रममा प्राप्त मोबाइल, ल्यापटप र अन्य प्राविधिक उपकरणअनुसार ती खातामा भएको रकमलाई दिनेशले ईस्क्रिल र बिन्यासमार्फत लोड तथा अनलोड गरी डलरमा भुक्तानी गर्ने गरेको भेटिएको थियो।

आरोपितको खातामा थुप्रै व्यक्तिहरुले नेपाली रुपैयाँ डिपोजिट गरेको देखिए पनि त्यो रकम कुन प्रयोजनमा कहाँ भुक्तानी भयो भन्ने अझै अनुसन्धानको चरणमा रहेको विभागले जनाएको छ। दिनेश र उनको आफन्तको नेपाली बैंकमा रहेको खातामा विभिन्न व्यक्तिबाट जम्मा गरिएको नेपाली रुपैयाँलाई दिनेशले एपमार्फत डलरमा विनिमय गर्ने र स्रोत नखुलेको स्थानमा भुक्तानी गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाइ छ ।

केन्द्रीय बैंकको सूचनाअनुसार प्रति अमेरिकी डलरको रु १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने रु ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ।

बाबुछोरा नै एमालेका सक्रिय कार्यकर्ता

डलरको अवैध कारोबारमा संलग्न खड्का परिवार नेकपा एमाले सम्बद्ध भएको पाइएको छ। डलरको अपचलनमा संलग्न दिनेश नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाई सदस्य हुन् भने उनको बुबा नरबहादुर नेकपा एमालेको सुदुर प्रदेश कमीटी सदस्य हुन्।

एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा नरबहादुर कैलालीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। यसअघि उनी कैलाली एमालेका निर्वाचित जिल्ला कमिटी सदस्य थिए। जिल्ला नेताको परिवार नै डलर अपचलनमा परेपछि अनुसन्धान फितलो बनाउन र मुद्दा रोक्न अनेकन दबाव दिइएको विभाग स्रोतले बताएको छ।

 

कमेन्ट गर्नुहोस्