सडकमाथिबाट खसेको ढुंगा लाग्दा जनसेनाका पूर्व कमाण्डरको निधन

दाङ । माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चलाइरहेका एक युवकको निधन भएको छ।

सल्यानको कपुरकोटबाट दाङको तुलसीपुरतर्फ आउँदै गर्दा तुलसीपुर–३ ढक्रेनीमा सडकमाथिबाट खसेको ढुङ्गाले लाग्दा घोराही– १४ निवासी ३५ वर्षीय नरबहादुर घर्ती ‘सुदीप’ को निधन भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार राति ७ बजेतिर उक्त घटना भएको थियो।

शर्माका अनुसार दुईवटा मोटरसाइकलमा चार जना कपुरबोट जान लागेका थिए। तर, पानी परिरहेकाले उनीहरू बीच बाटोबाटै फर्किए। घर्तीले मोटरसाइकल चलाइरहेका थिए। बाटो राम्रो नभएकाले उनको पछाडि सवार अर्का व्यक्ति मोटरसाइकलबाट ओर्लिएका थिए। सोही समयमा सडकमाथिबाट खसेको ढुंगाले मोटरसाइकलमा सवार घर्तीलाई लागेको थियो। उनको टाउकोमा चोट लागेको थियो।

घर्ती पूर्वमाओवादी जनमुक्ति सेनाका प्लाटून सह-कमान्डर हुन्। हाल उनी विप्लवनिकट नेकपामा आबद्ध थिए।

कमेन्ट गर्नुहोस्