काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।
हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो।
तिमल्सिनाले ४ हजार ८२४ मतभार प्राप्त गरी विजयी भएकी थिइन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन्।
त्यस्तै, पौडेलले ४ हजार ७९४ मतभार प्राप्त गरी विजयी भएका थिए भने एमालेका अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए।
नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले ८४ मतभार प्राप्त गरिन् भने नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले ८४ मत भार प्राप्त गरेका थिए।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए। राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेको थियो। प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो। स्थानीयतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो।
प्रदेशतर्फ तीन मत रहेको विवेकशील साझा पार्टीले भने मतदान प्रक्रियामा सहभागिता जनाएन।