काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा एमालेले सत्ता गठबन्धनका २ अतिरिक्त मत पाएपछि यसले ठूलो चर्चा निम्त्याएको छ ।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ कमला पन्तले प्रदेश सभाका २९ सांसदको मात्र मत पाइन्। विपक्षी एमाले उम्मेदवार लीला थनेतले पनि २९ मत पाइन्।
प्रदेश सभामा एमालेभन्दा ४ मत बढी रहेपनि सत्तारुढ गठबन्धन र एमालेको मत भने बराबर देखिएपछि त्यसरी एमालेलाई मत दिने सांसदको खोजी शुरु भएको हो ।
दुई जना सांसदले मत क्रस गरेपनि अन्तिम परिणाम भने गठबन्धनकै पक्षमा आएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरू कांग्रेस नेतृ कमला पन्त, माओवादी नेताद्वय सुरेश आले र भुवन सुनार निर्वाचित भइसकेका छन्।
गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनका ३१ जना सांसद छन् भने विपक्षी एमालेका २७ जना छन्।
महिला उम्मेदवारका साथै दलित र अन्य उम्मेदवारलाई मतदान गर्दा समेत प्यानललाई धोका दिएका समाचार अहिले प्रकाशित भएका छन् । गठबन्धनका तर्फबाट दलित उम्मेदवार बनेका मओवादीका भुवन सुनारले पनि पन्तले झैं प्रदेश सांसदका २९ मत पाए भने एमालेका अर्जुनकुमार सुनारले पनि गठबन्धन बराबर २९ मत नै पाएका छन् पाए।
गठबन्धनका अर्का उम्मेदवार माओवादी नेता सुरेश आलेले भने पन्त र सुनारले भन्दा बढी मत पाए। आलेले प्रदेश सभाका ३० सांसदको मत पाए। आलेलाई पनि गठबन्धनका १ जना सांसदले धोका दिएर एमाले उम्मेदवार पुण्यप्रसाद पौडेललाई मतदान गरे। पौडेलले २८ जना सांसदको मत पाएका थिए।
गण्डकीका एक जना प्रदेश सांसदले भने ६ जना उम्मेदवारमा कसैलाई पनि मतदान नगरी मतपत्र खाली राखेका थिए।