काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ उम्मेदवार विजय भएका छन् भने प्रतिपक्षी दल नेकपा एमालेले १ जनामै चित्त बुझाउनुपरेको छ।
निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन्। जसमा नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका ५, नेकपा एमालेका १, जनता समाजवादी पार्टीका १ र राजमोका १ जना उम्मेदवार विजयी बनेका छन्।
राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए।
तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन्। अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन्। बाँकी १८ पदमा भने गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ। तर यो निर्वाचनबाट एमालेले ८ मध्ये एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ।
राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन्। तर अझै पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै रहनेछ। हाल राष्ट्रिय सभामा एमालेका २४ सिट छन्। अब ७ गुमाएर पनि एमाले १७ सिटसहित ठूलो दल बनेको छ।
यससँगै माओवादी केन्द्रले १५ सिट पुर्याएको छ भने कांग्रेसले १० सिट पुर्याएको छ। त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्याएका छन्।
लुम्बिनी प्रदेशमा तुलप्रसाद विश्वकर्मा निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाले पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ।
को कहाँबाट विजयी भए ?
प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन्।
यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन्। वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्।
यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन्।
राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आगामी फागुन २१ गते सकिँदैछ। त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य छन्। बाँकी १९ पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम राष्ट्रिय सभामा सिट खाली हुनुअघि नै निर्वाचन भएको हो।
यी २० राष्ट्रिय सभा सदस्यको सकिदैछ पदावधि
यसपटक प्रदेश १ बाट परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ बाट सुमन प्याकुरेल र शशीकला दाहाल, वाग्मतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बिसी, लुम्बिनीबाट दृगनारायण पाण्डे र कोमल वली, कर्णालीबाट ठगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदैछ।
समावेसी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदूरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपाङ्गता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम वान्तावाको पदावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित भएका रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ।