एमालेको लज्जास्पद हार, १९ मध्ये १८ सीटमा गठबन्धनको शानदार जीत

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा लज्जास्पद हार बेहोरेको छ।

राष्ट्रिय सभाका रिक्त १९ पदमा आज भएको निर्वाचनमा एमालेले लज्जास्पद हार बेहोरेको हो। यसअघि यी सबै सीटमा एमाले बहुमतमा रहेको थियो।

राष्ट्रिय सभाका सबै सीटको नतिजा सार्वजनिक भइसकेको छ। नतिजा हेर्दा एमालेले प्रदेश १ मा अल्पसंख्यक कोटाको सीटबाहेक अरु सबै सीटमा पराजय भोग्नु परेको छ। प्रदेशमा १ समेत केही सांसदले अन्तर्घात गर्दा समाजवादीका हेमराज राई हारेका थिए भने एमालेका सोनम गेल्जोम शेर्पाले जितेका थिए। अन्य सबै सीटमा गठबन्धनको विजय भएको छ।

सात वटै प्रदेशमा सबै स्थानमा गठबन्धनले विजय हासिल गरेका छन्। प्रदेश १ र गण्डकी प्रदेशमा एमाले र गठबन्धन दुबैतर्फ मत क्रस भएको छ। बाँकी प्रदेशमा भने प्यानल अनुुसार नै मत गएको देखिन्छ।

गठबन्धनको यो जीतले आगामी निर्वाचनमा समेत गठबन्धन कायमै गर्नुपर्ने दबाब दिएको छ। अर्कोतर्फ यसले राष्ट्रिय सभामा सत्ता गठबन्धन दुई तिहाईको नजिक पुगेको छ।

राष्ट्रिय सभामा एमालेले आफ्नो पार्टीको तर्फबाट खाली भएका ८ सीटमध्ये १ सीटमात्रै जितेको छ भने ७ सीट गुमाएर १६ सिटमा खुम्चिएको छ। राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबाट मनोनित एमालेकै नेताहरु विमला राई पौडेल र वामदेव गौतम गरी एमालेसँग १९ सीटमात्रै रहन्छ। उसो त एमाले फूटसँगै वामदेव गौतमले एमालेबाट राजीनामा दिइसकेको बताउँदै आएका छन्। अब वामदेवको भूमिकाले नै राष्ट्रिय सभाको समीकरणमा ठूलो असर पार्ने देखिन्छ।

मनोनीत सांसद बामदेव गौतमले साथ दिए राष्ट्रिय सभामा सत्ता गठबन्धनले दुई तिहाइ पुर्‍याउन सक्छ। राष्ट्रिय सभाका सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत पुग्दा सरकारलाई आफु अनुकुल निर्णय गर्न सहज हुन्छ। सरकारले चाहेको निर्णय लिनका लागि विपक्षी दलहरुले रोक्न सक्दैनन्।

त्यस्तै, माओवादी केन्द्रले १५ सिट पुर्‍याएको छ भने कांग्रेसले १० सिट पुर्‍याएको छ। त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्‍याएका छन्। लुम्बिनी प्रदेशमा तुलप्रसाद विश्वकर्मा निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाले पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ।

 

कमेन्ट गर्नुहोस्