मन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मन्त्री यादवले साम्प्रदायिक दंगा भड्काउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता रञ्जित कर्णले मुलुकी अपराध संविधान ०७४ बमोजिम नेपाल प्रहरीमा जाहेरी दिएका हुन् ।

मन्त्री यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन् । सो अभिव्यक्तिले दुई समुदायबीच साम्प्रदायिक द्वन्द्व फैलाउन मद्दत पुगेको नेता कर्णको दाबी छ ।

उनले जिल्ला प्रहरी कार्यालय रौतहटमा मुलुकी अपराध संहिता ०७४ को दफा ४९ (४) बमोजिमको अपराध भएको भन्दै दफा ५ (ग) बमोजिमको कैद र जरिवाना गर्न माग गर्दै विहीबार जाहेरी दिएका छन् ।

उनले विहीबारै सप्तरकिा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री यादवले भने यसअघि नै विज्ञप्तिमार्फत आफूले कोही व्यक्तिप्रति लक्षित गरेर त्यस्तो अभिव्यक्ति नदिएको र आफ्नो अभिव्यक्तिलाई लिएर भ्रम फैलाइएको दाबी गरेकी थिइन् ।
कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्