गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउँछ– खेलकूदमन्त्री अथक

चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने बताएका छन्। निर्माणाधीन रंगशालाको स्थलगत अनुगमन गर्न गएका खेलकूदमन्त्री गहतराजले लगानीको स्रोत पहिचान गरेर निर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए।

धुर्मुस–सुन्तली फाउण्डेशनले शुरु गरेर आर्थिक अभावको कारण देखाउँदै बीचमै छोडेको क्रिकेट रंगशाला खेलकूदमन्त्रीले नै सरकारले बनाउने बताएपछि आशा पलाएको छ। अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले निर्माणाधीन रंगशालालाई कुन मोडलमा बनाउने भन्नेबारे छिट्टै टुंग्याउने पनि बताए।

‘सरकारले तुरुन्तै परिणाम निकाल्न सक्ने महत्वाकांक्षी खेलकूदको संरचना भएकाले यसलाई विधि र प्रक्रिया पूरा गरेर सरकारले अपनत्व ग्रहण गर्छ,’ मन्त्री गहतराजले भने, ‘रंगशाला निर्माणका बाँकी काम पनि विधिसम्मत ढंगले लगानीको स्रोत पहिचान गरेर सरकारले निर्माण सम्पन्न गर्छ। यसका लागि मैले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा यस क्षेत्रका संघीय सांसद प्रचण्ड लगायतसँग छलफल गरिसकेको छु।’

आफूले चितवनका सबै राजनीतिक दलका प्रतिनिधिहरूको रंगशाला निर्माणका विषयमा एक मत रहेको बुझेको भन्दै मन्त्री गहतराजले सर्वसम्मत रूपमा नेपालमा कमै परियोजनाहरू बन्ने गरेको बताए।

खेलकूदमन्त्रीले धुर्मुस सुन्तली फाउन्डेसनसँगको कागजी प्रक्रिया चाँडै पूरा गर्न महानगरलाई भनेका छन्। उनले रंगशालाका बाँकी काम संघीय सरकारले पूरै बनाउने हो वा निजी सरकारीको साझेदारीमा बनाउने भन्नेबारे चाँडै टुंगोमा पुग्ने पनि बताए।

यस्तै, चितवनका स्थानीयले धुर्मुस सुन्तली फाउन्डेसनसँग रंगशाला निर्माण गर्दाको हिसाब मागेका छन्। उनीहरुले रंगशाला निर्माणका लागि एक रुपैयाँदेखि करोडौं रुपैयाँसम्म सहयोग जुटेकाले त्यसको विवरण चाहिने बताएका हुन्। रंगशाला निर्माणका लागि भरतपुर महानगरको अगुवाइमा महायज्ञ पुराण पनि लगाइएको थियो। सो पुराणमा आएका करिब ४० हजार भक्तजनहरुबाट २१ करोड रुपैयाँ उठेको थियो।

यस्तै, महानगरपालिकाले पनि १० करोड दिएको थियो भने प्रदेश सरकारले ३० करोड दिएको थियो।

कमेन्ट गर्नुहोस्