प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक आज बोलाएका छन् ।

न्यायालयमा विगत केहि समय देखि आन्दोलन चलिरहेको छ । आन्दोलनका कारण आफू भूमिका विहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाएका हुन्।
गत कात्तिक ७ गते सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामाको माग सहित आन्दोलन सुरु गरेका थिए ।

आफ्नो बहिर्गमनको माग सहित निरन्तर आन्दोलन चलिरहेको समयमा उनले पहिलोपटक गत पुस ६ गते बैठक बोलाएका थिए।

आन्दोलन कै बिचमा राणाले अघिल्लो महिना जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि न्याय सेवा आयोगको बैठक बोलाएका थिए । तर, पुस ७ गते सूचना निकालेर आयोगको बैठक स्थगित भएपछि बैठक अन्यौलमा परेको थियो ।

त्यतिबेला न्याय सेवा आयोगका सदस्य एवम् लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको भन्दै त्यतिबेलाको बैठक स्थगित गरिएको थियो । राणाले करिब एक महिनापछि पुनः आजका लागि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुनमन्त्री,सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने व्यवस्था छ । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने व्यवस्था न्याय सेवा ऐन २०७३ ले गरेको छ।

कमेन्ट गर्नुहोस्