यूरोपको उर्जा संकट: रुसबाट ग्यास नआए सिँगो यूरोप चिसोले जम्ने, मौकाको खोजीमा अमेरिका

काठमाडौं । यूरोपको उर्जा संकट अहिले आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदलिएको छ । पश्चिमी देशहरुले हाकाहाकी रुसमाथि ग्यास वार शुरु गरेको आरोप लगाएका छन् । जबकि क्रेमलिनले भने यी आरोप अस्वीकार गरेको छ

रुसले पश्चिमी देशहरुका अगाडि एक किसिमले अन्तिम शर्त राखेको छ । त्यो भनेको यूरोपलाई अलगअलग प्रभाव क्षेत्र भएका खण्डमा बाँिडयोस र ग्यास मार्केटमा खेलका नियम परिवर्तन गरियोस् ।

यूरोपिय देशहरु आफ्ना नागरिक र उद्योग दुबैलाई जोगाउन युद्धस्तरमा तयारी गरिरहेका छन् र अमेरिका भने यूरोपमा रुसी ग्यासको साटो उच्च मूल्यमा आफूले ग्यास सप्लाई गर्ने मौका पाइने भनेर खुसी देखिन्छ ।

विश्वव्यापी उर्जा संकटको शुरुआत हिउँद सुरु भएदेखि नै भएको थियो । चिसो बढने क्रमसँगै अवस्था झनै बिग्रउको छ । पहिला ग्यास र अहिले तेलको मूल्य उच्च गतिमा बढेको छ । यूरोपमा उर्जा संशाधनको यतिधेरै कमी छ कि आम मानिसदेखि उद्योगहरुसम्म बिजुली र ग्यासको बिल अत्यधिक बढेको छ ।

अकस्मात कसरी भयो त यूरोपमा उर्जा संकट

यूरोपमा उर्जा संकटका दुईवटा कारण अस्थायी छन् । पहिलो कोरोना महामारी र अर्को मौसम । तर यसअतिरिक्त बाँकी तीनवटा यस्ता कारण छन, जुन लामो समयदेखि हल हुन सकेका छैन । खासगरी उर्जा बजारमा प्रतिष्पर्धा, युक्रेनी जनताको आत्मनिर्णयको अधिकार र भविष्यको अर्थव्यवस्थामा हाइड्रोकार्बनको भूमिकालाई लिएर रुस र यूरोपबीचको सैद्धान्तिक मतभेदमाथि यूरोपको उर्जा संकटका दीर्घकालिन कारण लुकेका छन् ।

यसले केही प्रश्नहरु जन्माएको छ । जस्तो कि यूरोपमा उर्जा संकट कहिलेसम्म रहनेछ ? यूरोपलाई यसको के कति नोक्सानी ब्यहोर्नुपर्ला ? ग्यास मार्केटमा खेलका नियम कसरी बदलिनेछन् ? र रुसको कमाईको मुख्य श्रोत मानिने हाइड्रोकार्बनको प्रयोगलाई क मगर्नका लागि जुन ग्रीन इनर्जीलाई प्रश्रय दिनुपर्ने कुरा भनिँदैछ, त्यसको भविष्य के हुनेछ ?

यी सबै प्रश्नहरु यूरोप र रुसबीच विद्यमान आधारभूत विषयका मतभेद कति छिटो हल हुन्छ भन्ने कुरामा निर्भर रहेका छन् ।

यूरोपलाई आवश्यक पर्ने प्राकृतिक ग्यासको करिब एक तिहाई आपूर्ति रुसले गर्दछ । तर केही महिनाअघिदलेखि उसले ग्यासको आपूर्तिमा ठूलो कटौतीगरेको छ ।

१५ जनवरीसम्म यूरोपियन देशहरु क्रेमलिनमाथि ग्यास वार शुरु गरेको आरोप लगाउन डराएको देखिन्थे । तर युक्रेनका सवालमा भ्लादमिर पुटिनको आशयको आँकलन गर्दै पश्चिमी देशहरुले यूरोपको उर्जा संकटका लागि रुसलाई सोझै जिम्मेवार ठहर्याउन शुरु गरे ।

इतिहासः वर्ष १९७३–१९७४ को ऐतिहासिक तेल संकट

केही समयअघि इन्टरनेशनल उर्जा एजेन्सीका प्रमुख फातिह बिरोलले रुसलाई चालबाज भन्दै आलोचना गरे । उनले यूरोपको ग्यास बजारमा रुसले समस्या उत्पन्न गरेको आरोप लगाए । वर्ष १९७३, १९७४ को ऐतिहासिक तेल संकटपछि यूरोपका अगाडि सबैभन्दा ठूलो उर्जा संकट भएको उनले बताए ।
वर्ष १९७३ को याम किप्पुर युद्धमा पश्चिमी देशहरुले इजराइलको समर्थन गरेका थिए । त्यसपछि अरब देशहरुले पश्चिमी देशहरुलाई तेल बेच्न अस्वीकार गरेका थिए ।

उर्जा एजेन्सी आइइइको गठन पश्चिमी देशहरुलाई उर्जा सुरक्षा सुनिश्चित गर्न गरिएको थियो । यसले आगामी दिनमा आउन सक्ने संकटका बारेमा विकसित देशहरुलाई सचेत तुल्याउने र संकटबाट जोगिन साझा कोशीस गर्ने तथा संकट उत्पन्न भएमा त्यसको सामना गर्न विशेष भूमिका निर्वाह गर्दछ ।

पछिल्लो आधा शताब्दीमा यस्तो संकट तीनपटक उत्पन्न भएको छ । दुईपटक सन् १९९१ मा खाडी युद्ध र २०११ मा लिबिया संकटका बेला युद्धका कारण उर्जा संकट आएको थियो भने वर्ष २००५ मा कटरिना चक्रवातका कारण यो संकट उत्पन्न भएको थियो ।

तर पश्चिमी देशहरुले रुसमाथि संकट पैदा गरेको आरोप लगाइरहेको बेला क्रेमलिनले भने यूरोप स्वयम् जिम्मेवार भएको बताएको छ ।
यूरोपको उर्जा संकटसँग आफ्नो कुनै लिनुदिनु नरहेको रुसको तर्क छ । यूरोपियन संघ, ग्यास आपूर्ति गर्ने कम्पनीबीच कडा प्रतिष्पर्धा गराउने कोशीसहरु र जलवायु परिवर्तनविरुद्धको लडाई यो उर्जा संकटको मुख्य कारण भएको रुसको दावी छ ।

रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिबिसीमा भनेका थिए, “म इन्टरनेशनल एनर्जी एजेन्सी जस्तो प्रतिष्ठित संस्था प्रमुखको मुखबाट यस्ता कुरा सुनेर हैरान भएको छु । उनी यूरोपिय उपभोक्ताहरुको समस्याका लागि हामीमाथि दोष थोपरिरहेका छन् । तर न त रुस न गैजप्रोम नै यसका लागि जिम्मेवार छ ।”

खुला बजारको व्यवस्था

रुसको सरकारी ग्यास कम्पनी गैजप्रोमले यूरोपलाई अतिरिक्त ग्यास आपूर्ति गर्ने कुरामा हतारो देखाइरहेको छैन । जबकि मूल्य आफ्नो रेकर्ड उचाईमा पुगेको छ । पश्चिमी देशहरुको मनमा रुसले यो विषयमा कसैको नसुन्ने निर्णय गरेको भान परेको छ ।

रुसले खुला अर्थव्यवस्थालगायतका कारण जिम्मेवार भनिरहेपनि व्हाइट हाउसका एक अधिकारीले भने यसमा बजार र बजारका शक्तिहरुको कुनै भूमिका नभएको र यो पुरै रुसको षडयन्त्र भएको बताएका छन् ।

यूरोपियन यूनियनको एन्टी ट्रष्ट नीतिहरु हेर्ने मार्गरेट वेस्टागेर पनि यस्तै आशंका व्यक्त गर्छिन । माग बढदा कुनै कम्पनीले आपूर्ति कम गर्छ भने कुरा बुझ्नुपर्छ । प्रतिष्पर्धात्मक बजारमा कुनै पनि कम्पनीले यस्तो व्यवहार गर्दैन ।

रुसी कम्पनी गैजप्रोमको ग्यास सप्लाईको मोडल लामो अवधिको ठेकाका आधारमा चल्दछ । यसप्रकारको सम्झौतामा मूल्य र आपूर्तिको मात्र वार्षिक तय गरिन्छ । यसमा नयाँ ग्यास फिल्डको विकास र नयाँ पाइपलाइन बिछ्याउनका लागि ऋण दिने प्रावधान समेत हुन् छ । तर यूरोपले भने बजारका शक्तिहरुले मूल्य निर्धारण गर्नुपर्ने र खुला बजार व्यवस्थामा ग्यासको खरिदबिक्रीको मोडल अपनाउन चाहन्छ । यस्तोमा मूल्य र मात्राको कुनै ग्यारेन्टी हुँदैन । रुसले भने यो मान्दैन ।

रुसको चाहना
माग र पूर्तिको आधारमा बजारमा मूल्य निर्धारण गर्ने हुन्छ । यूरोपले यहाँको ग्यास बजारले पनि यही किसिमले काम गरोस चाहन्छ ।

वर्ष २०५० देखि यूरोपियन यूनियनले सबै कुरा स्टक एक्सचेन्जलाई सुम्पिने लक्ष्य राखेको छ । तर रुसले भने यो मोडेलको पूर्ण बिरोध गर्दै आएको छ । राष्ट्रपति पुतिनले धेरैपटक ग्यास बजारलाई स्टक एक्सचेन्जमा लैजाने कुराको बिरोध गरेका छन् । उपप्रधानमन्त्री नोभाकले भनेका छन, “यूरोपको दृष्टिकोण संकीर्ण छ । उनीहरु लामो अवधिको सम्झौताको साटो सानो अवधिको स्पट कन्ट्र्याक्ट मोडल अपनाउन चाहन्छ । हामीसँग धेरै संशाधन छन र हामी आपूर्ति गर्न सक््छौ । तर कुनै उत्पादनका लागि कुनै प्रोजेक्टमा निवेशको आवश्यकता हुन्छ र नाफाको अवस्थासम्म पुग्नका लागि समय लाग्छ । यो हाम्रो स्पष्ट रणनीति हो ।”

जर्मनीले युक्रेनलाई उपेक्षा गरेर बाल्टिक सागरबाट जाने नार्ड स्ट्रीम पाइमपाल्इको दोश्रो परियोजना अघि नबढाएको पनि रुसले आपत्ती जनाएको छ । गत अक्टुबरमा पुटिनले यो परियोजना शुरु हुने हो भने भोलीपल्टदेखि नै यूरोपको आपूर्ति बढने बताएका थिए ।
तर यो पाइपलाइन शुरु भएको खण्डमा यूरोपको ग्यास बजारमा रुसको आधिपत्य हुने देखिन्छ । जुनकुरा अमेरिका र यूरोपियन संघले चाहँदैन ।

कसरी बित्ला जाडोयाम ?
यूरोपले आफ्नो उर्जा संकटलाई बजारको समस्या भन्दा राजनीतिक समस्याका रुपमा हेरेको छ । त्यसैले यससँग लडनका लागि आपतकालिन उपाय पनि अवलम्बन गरिरहेको छ ।

कतिपय देशहरुले मुद्रास्फिति, अर्थव्यवस्थामा मन्दी र असन्तोष रोक्नका लागि जनता र उद्योगलाई सब्सिडीको आश्वासन दिएका छन् । इटलीले यसका लागि चार अर्ब डर र स्वीडेनले २० लाख परिवारका लागि ५० करोड डलरको बजेट विनियोजन गरेको छ । जर्मनीले पनि उद्योगलाई सब्सिडी दिने बताएको छ । उसले रुस युक्रेन संकटमा यूरोपियम मूल्यको रक्षाका लागि नार्ड स्ट्रीम पाइपलाइन छोडने सम्भावनालाई पनि खारेज गरेको छैन ।

रुसले ग्यासको आपूर्ति नढाएपनि बसन्त आउँदासम्म चिसोले नै त नजमिएला भन्ने सोचाई यूरोपको छ । तर प्रश्न मूल्यको हो । यो घटनाले उच्च मूल्यमा बजारको खोजी गर्न अमेरिकलाई मौका भने दिएको छ ।

अहिलेसम्म मध्यपूर्व र अमेरिकाको लिक्विफाइड नेचुरल ग्यास (एलएनजी)का लागि एशिया प्रमुख बजार थियो । तर अहिले यूरोपको बजार यतिविधि आकर्षक छ कि मेक्सिको खाडीदेखि एशियासम्मय हिँडेका एलएनजी क्यारिअर प्रशान्त महासागरको आधा बाटोमा दिशा परिवर्तन गर्दै एटलान्टिक तर्फ जान थालेका छन् । चीन र ब्राजिलका लागि ग्यास बजारमा सम्भावना देखिएको छ ।

यसरी हेर्दा यो जाडोयाममा यूरोपका लागि अप्ठ्यारो अवस्था सिर्जना भएको छ । तर यो संकट वर्षदिन बढी चल्यो भने यूरोपले यसको निकै ठूलो मूल्य चुकाउनु पर्ने पनि हुनसक्छ ।

अलेक्सी कालिमकोव
बीबीसी रूसी सेवा

एभरेष्ट दैनिकका लागि अनुदित

कमेन्ट गर्नुहोस्