के भयो देउवा, प्रचण्ड र नेपालबीचको छलफलमा ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र सत्तारुढ गठबन्धनका दुई शीष नेता प्रचण्ड तथा माधव नेपालबीच भटेवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको हो ।

सत्तारुढ गठबन्धनले सकेसम्म तीनवटै तहको निर्वाचन एकैपटक गर्ने र त्यसो हुन नसके संसदीय निर्वाचन अगाडि गर्ने रणनीतिको तयारी गरेको छ ।

आजको छलफलमा राष्ट्रिय सभाको निर्वाचनको नतिजाको समीक्षाका साथै निर्वाचनको तयारीका बारेमा शीर्ष नेताले कुरा गरेको श्रोतले बतायो ।

स्थानीय तहको निर्वाचनसँग जोडिएका दुईवटा कानुन संविधानसँग बाझिएकाले ऐन संशोधनको तयारी गर्ने र त्यसपछि निर्वाचन मितिको घोषणा गर्ने विषयमा छलफल भएको श्रोतले जानकारी दियो । यसका साथै निर्वाचन आयोगले पछिल्लो समय जारी गरेको वक्तव्य तथा वैशाखमैं निर्वाचन गर्न दबाब दिएको परिस्थितिमा के कसरी अघि बढने विषयमा गठबन्धनको साझा धारणा निर्माण गर्न भोली बैठक बोलाउने समेत आज निर्णय भएको छ ।

सत्तारुढ गठबन्धनको भोली बस्ने बैठकले निर्वाचनका बारेमा ठोस धारणा निर्माण गर्नेछ । नेपाली कांग्रेसले समेत यही विषयमा पार्टीको धारणा निर्माण गर्न आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कमेन्ट गर्नुहोस्