काठमाडौं । कोराना संक्रमित भएर आइसोलेसनमा बसिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
भक्तपुरको बालकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ओली सहभागी भएका हुन ।
उनी गत ९ गते कोरोना संक्रमित भएका थिए ।
कार्यक्रमको भिडियो सार्वजनिक भएको यसबारेमा चर्चा शुरु भएको छ । बुधबार भएको कार्यक्रमको सार्वजनिक भिडिओमा ओलीले ‘सार्वजनिक कार्यक्रममा तपाईँहरूले पनि डिस्टेन्स मेन्टेन गरेर बस्नुहोस्,’ भनेर भनेका छन्।
उनको त्यो बोली खस्न नपाउँदै एउटी महिलाले जवाफ दिइन्, ‘हामीलाई बा भएपछि केही हुँदैन।’ त्यसपछि हाँसोको फोहोरा सुनिन्छ र देखिन्छ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुर र स्थानीय पार्टीले बालकोटमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
कोरोना संक्रमित बिरामीका लागि भनेर रक्तदान कार्यक्रम आयोजना गरिएपनि कोरोना संक्रमित भएका अध्यक्ष ओलीको उपस्थितिलाई लिएर ठूलो आलोचना भएको छ ।
ओलीमात्रै नभएर उनकी पत्नी राधिका शाक्य पनि कार्यक्रममा उपस्थित थिइन । उनलाई समेत कोरोना संक्रमण देखिएको थियो ।
कार्यक्रममा युवा संघका इन्चार्ज महेश बस्नेत, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा र युवासंघका अध्यक्ष किरण पौडेललगायतको सहभागिता थियो।