नेपाल बैंकले संचालनमा ल्यायो एनआरएन निक्षेप खाता

काठमाण्डौं । नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाट नेपाल बैंक लि. मा बिदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।

अमेरिकी डलर, पाउन्ड स्टर्लिंग र अष्ट्रेलियन डलरमा नेपाल बैंक लिमिटेडमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिने बैंकले जनाएको छ । त्यस्तै विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ । बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिक डलर ५,००० वा सो वरावरको अन्य विदेश मुद्रा हुनुपर्ने छ ।

एनआरएन खाता गैर–आवासीय नेपाली तथा गैर आवासीय नेपालीले विदेश स्थित संस्थाको नाममा र गैर–आवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सक्ने छन् । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नु पर्छ । साथै बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ । मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढी अवधिको लागि खोल्न सकिने छ ।

यस बैंकले नेपाल अधिराज्यभर २१३ शाखाहरु,१४८ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ । बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढीरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत दशैभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । विदेशमा रहेका नेपालीहरुको समेत अत्यन्त आकर्षक नेपाल बैंक लि.ले संचालनमा ल्याएका नयाँ एनआरएन निक्षेप योजनाले गैर आवासीय नेपालीहरुलाई अनलाइनबाट नै सहज रुपमा नेपालमा बचत गर्ने अवसर प्रदान गरेको छ ।

कमेन्ट गर्नुहोस्