माघ महिनाभर विद्यालय बन्द गर्न सरकारलाई सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ महिनाभर विद्यालयमा भौतिक रुपमा उपस्थित भई गरिने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको हो।

बैठकले गरेका निर्णयहरुका बारेमा जानकारी दिदै सीसीएमसीका प्रवक्ता सुनिता नेपालले माघ मसान्तसम्म सरकारले भौतिक रुपमा विद्यालयमा पठनपाठन सञ्चालन नगर्न गरेको आदेश कायमै राख्न अनुरोध गरेको बताइन्। विश्वविद्यालयका परीक्षालाई भने स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको छ।

कोभिड–१९ विरुद्धको खोप सञ्चालन भइरहेका ठाउँमा भीडभाड धेरै भएकोतर्फ आफूहरुको ध्यानाकर्षण भएको भन्दै सीसीएमसीले खोप केन्द्रहरुको उचित व्यवस्थापन गरी खोप कार्यक्रम सञ्चालन गर्न पनि सिफारिस गरेको छ।

कमेन्ट गर्नुहोस्