होण्डुरसको पहिलो महिला राष्ट्रपति बनिन् बामपन्थी नेतृ सिओमारा क्यास्ट्रो

एजेन्सी । वामपन्थी नेतृ सिओमारा क्यास्ट्रोले बिहीबार होन्डुरसको प्रथम महिला राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नुभएको छ।

राष्ट्रपतिको शपथ लिदै उहाँले अपराध र गरिबीको चपेटामा परेको राष्ट्रलाई ‘समाजवादी र लोकतान्त्रिक राज्य’मा सुधार गर्ने वचन दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

नेतृत्वका लागि भएको करिब एक हप्ता लामो सङ्घर्षपछि ६२ बर्षीया क्यास्ट्रोले आफ्नो अधिकारलाई चुनौती दिने आफ्नो पार्टीभित्रको मतभेदलाई अन्त्य गर्ने प्रतिवद्धतासहित विशाल समारोहबीच शुक्रबार शपथ लिनुभएको हो।

टेगुसिगाल्पा राष्ट्रिय रङ्गशालामा आफ्नो पहिलो आधिकारिक सम्बोधनमा क्यास्ट्रोले होण्डुरसले सामना गरिरहेको सामाजिक तथा आर्थिक दुःखका चर्चा गदै शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा र रोजगारमा सुधार ल्याउने प्रतिज्ञा गर्नुभयो।

उहाँले आफू देशमा भइरहेका गतिविधिबाट ‘दिक्क’ बनेको तर ‘समाजवाद र प्रजातन्त्र’ को अभ्यास गर्दै देशमा सुधारको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ।

होण्डुरसको सार्वजनिक ऋण करिब १७ अर्ब डलर छ।

क्यास्ट्रोलाई न्यायाधीश कार्ला रोमेरोले शपथ खुवाउनुभएको थियो।

समारोहमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, स्पेनका राजा फेलिप छैठौंलगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्