उपत्यकामा सार्वजनिक सवारी साधनमा जोर बिजोर नियम हट्ने संकेत !

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। सर्वसाधारणको चर्को विरोध र सार्वजनिक सवारी साधनको अभावमा भीडभाड थप बढेपछि जोर बिजोर नियममा हेरफेर गर्न लागिएको हो।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले सार्वजनिक सवारी साधनमा जोरबिजोर नियम हटाउन सिफारिस गरेको बताइएको छ। केन्द्रकी प्रवक्ता सुनिता नेपालले सार्वजनिक सवारी साधनमा जोर बिजोर हटाए पनि ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर नियम यथावत राखिने बताइन्।

केन्द्रले गरेको सिफारिस अनुसारको निर्णय लिन उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु रहेको डीसीसीएमसीको बैठक अहिले बसिरहेको छ। उनीहरुको बैठकपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सवारीमा जोरबिजोर हटेको सूचना निकाल्ने तयारी गरेका छन्।

सरकारले गत माघ ७ गतेदेखि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो। तर त्यसको सर्वसाधारण र विज्ञहरुले पनि चर्को विरोध गरेपछि सरकार लचक भएर सार्वजनिक सवारीको जोरबिजोर नियम हटाउन लागेको हो।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका थिए।

कमेन्ट गर्नुहोस्