युक्रेनद्वारा पश्चिमी देशहरुलाई चेतावनीः युद्धको हल्ला पिटेर अनावश्यक तनाव सिर्जना नगर

काठमाडौं । अमेरिकाले बारम्बार रुसले आक्रमण गर्दैछ भन्ने प्रचार गर्न थालेपछि युक्रेनले अनावश्यक तनाव सिर्जना नगर्न चेतावनी दिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई रुस युक्रेन विवादलाई अतिरिञ्जत नबनाउन भनेका हुन ।

अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न थालेको चेतावनी दिने कुराले युक्रेनको अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् ।

अमेरिकाले भने युक्रेनमाथि रुसले आक्रमण गर्न गइरहेको भन्दै त्यसविरुद्ध नाटो र आफ्नो देशले प्रतिवाद गर्ने धम्की दिँदै आएको छ । अमेरिकी धम्की र चेतावनीका कारण तनाव बढेको भन्दै युक्रेनका राष्ट्रपतिले पश्चिमी देशहरुलाई हैसियतमा बस्न भनेका हुन ।

रुसले समेत आफूले आक्रमण गर्ने कुनै मनशाय नभएको बारम्बार बताउँदै आएको छ ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै युक्रेनका राष्ट्रपतिले यूरोप र अमेरिकालगायतका देशहरुले युक्रेनबाट कुटनीतिज्ञ फिर्ता बोलाउने निर्णयको समेत बिरोध गरे । युद्दको हौवा दिएर गरिएका हर्कतका कारण अर्थतन्त्र र सामाजिक जीवनमा असर परेको उनले बताए । भोली युद्ध हुन्छ, पर्सी युद्ध हुन्छ भन्ने त्रास फैलाउँदा युक्रेनलाई निकै ठूलो नोक्सानी भएको छ ।

यसअघि युक्रेन र अमेरिकाका राष्ट्रपतिबीच भएको टेलिफोन संवादमा समेत उनले अमेरिकालाई युद्धको खतरा नभएको बताएका थिए । अमेरिकाले भने रुसले युद्धकै तयारी गरिरहेको दावी गरेको छ ।

कमेन्ट गर्नुहोस्