निर्वाचन जहिले भएपनि तयार छाैं, गठबन्धन चुनावसम्म हुन- माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म यथावत रहने  दावी गरेका छन् । याे विषयमा गठबन्धनमा सबैकाे सहमति भएकाे उनले बताए ।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै नेपालले निर्वाचनकाे मितिसँग कुनै आपत्ति नभएकाे समेत बताए । ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं’ अध्यक्ष नेपालले भने, ‘असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं ।’

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रूपमा लागिपरेको उनकाे आरोप थियाे ।
शनिबार बिहान बालुवाटारमा भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता जनाएको नेपालले बताए।

‘स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिवद्धता व्यक्त गर्नुभएको छ। गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु। र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनिसकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन,’ नेपालले भने।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा राखे। उनले स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दाबी गरे।

अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे। ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ। संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भइसकेको समयदेखि ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ। अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिनाभित्र गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो भनेर हामीले त्यो समयलाई हेर्नु पर्दछ,’ उनले भने।

कमेन्ट गर्नुहोस्