सत्तारुढ गठबन्धनको बैठक सुरु, के होला सहमति ?

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक पुनः शुरु भएको छ । यसअघि आज बिहान ९ बजे बसेको बैठक थप तयारी गर्न भन्दै अहिले ४ बजेका लागि बोलाइएको थियो ।

स्थानीय निकायको निर्वाचन मिति तय गर्नका लागि सत्तारुढ गठबन्धनले बैठक बोलाएको थियो । निर्वाचन आयोगले सिफारिस गरेअनुसार वैशाखमैं स्थानीय तहको निर्वाचन गर्ने या संविधानको प्रावधान अनुसार बाझिएको ऐन संशोधन गरेर असोज या मंसिरमा निर्वाचन गर्ने भन्ने विषयमा गठबन्धनले निर्णय गर्न सकेको छैन ।

सत्तारुढ पाँच दलभित्र संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमतिका लागि कोसिस भइरहेको छ । यदि यसरी जाने अवस्थामा तीनै तहको निर्वाचन फागुन २०७९ मा गर्ने प्रस्ताव समेत आज बिहानको छलफलमा आएको थियो । यद्यपी यो विषयमा कुनै सहमति भने जुटन सकेको छैन । राष्ट्रपति कार्यालय, निर्वाचन आयोगबाट समेत वैशाखमैं निर्वाचन गर्न दबाब आइरहेको र निर्वाचन सार्ने अवस्थामा यसले प्रतिकुल असर समेत पर्न सक्ने सम्भावनाबारे समेत गठबन्धन बैठकमा छलफल हुन सक्ने देखिन्छ । नेपाली कांग्रेसका केही नेताहरुले स्थानीय तहको निर्वाचन ढिलाई गर्दा यसको नकारात्मक प्रभाव पर्नसक्ने भन्दै आएका छन् ।

आज बिहानको बैठकपछि यो विषयमा कानुनविदसँग थप छलफल गरेर टुंगोमा पुग्न बैठक स्थगित गरिएको थियो । बिहान गठबन्धनको बैठकपछि गठबन्धनका शीर्ष नेताहरुबीच बेग्लै छलफल भएको थियो ।

आजको बैठकमा यी यावत सबै विषयमा छलफल गरेर आवश्यक निर्णय लिन सक्ने सम्भावना देखिन्छ ।

कमेन्ट गर्नुहोस्