सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक वालुवाटारमा शुरु

काठमाडौं । स्थानीय तह निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता गठबन्धन पाँच दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ। पार्टीको काम विशेषले काठमाडौँबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका हुन्।

बैठकमा शीर्ष नेताहरुका साथै सरकार सञ्चालन समन्वय संयन्त्रका सदस्यहरु र कानुनविद्हरु समेतको उपस्थिति रहेको छ।

स्थानीय तहको चुनावको मितिलाई लिएर विवाद बढिरहेका बेला त्यसबारेमा ठोस निर्णय लिन कानुनविद्हरुलाई समेत बोलाएर नेताहरु छलफलमा जुटेका छन्।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुअघि संविधानसँग बाझिएका कानुन संशोधन गर्न कानुनविद्सँग छलफल गर्ने निर्णय लिएको थियो।

उक्त बैठकमा स्थानीय तह निर्वाचन मिति तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको दबाबबारे पनि बैठकमा छलफल भएको थियो। बैठकमा राष्ट्रपतिले कसैलाई सम्बोधन नगरी लेखेको पत्र सबैलाई वितरणसमेत गरेर अध्ययन गर्न दिइएको थियो।

अहिले बसिरहेको बैठकले स्थानीय तह निर्वाचनबारेमा सत्ता गठबन्धनले ठोस धारणा बनाउन सक्ने बताइएको छ।

कमेन्ट गर्नुहोस्