काठमाडौं । प्रतिनिधि सभाको भोलि आइतबारका लागि तोकिएको बैठक सारिएको छ।
शनिबार अबेर सूचना प्रकाशन गरी संघीय संसद सचिवालयले कोभिड–१९ संक्रमणको जोखिम यथावतै रहेकाले माघ १६ गते दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरी माघ २६ गते बुधबारका लागि सारिएको जनाएको हो।
महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘माघ १६ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक कोभिड–१९ संक्रमणको जोखिम यथावत रहेकोा कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
यसअघि पुस १८, २२, २८ र माघ ३ गते सूचना प्रकाशन गरी बैठक सारिएको थियो। पछिल्लो पटक माघ १६ गते बोलाइएको बैठक आज (शनिबार) पुनः सूचना प्रकाशन गरी माघ २६ गतेका लागि बोलाइएको छ।