इजरायल जाने श्रमिकको उडान एक साताका लागि रोकियो

काठमाडौं । कोरोना भाइरस कारण इजरायल जाने श्रमिकको उडान एक साता रोकिएको छ। नेपालबाट इजरायल पुगेका र जाने तयारीमा रहेका श्रमिकमा कोरोना संक्रमण भएपछि उडान एक साता स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायल जान तयार भएका र इजरायल पुगेका श्रमिकमा संक्रमण देखिएका कारण अर्को उडान एक साता पछि सारिएको हो । हाल पोजेटिभ रिपोर्ट आएर आइसोलेसनमा बसेका श्रमिकले घर पायक पर्ने स्वास्थ्य संस्थामा पिसिआर परीक्षण गरेर त्यसको जानकारी वैदेशिक रोजगार विभागमा दिएपछि बाँकी प्रक्रिया प्रारम्भ हुने छ ।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि अन्तिम छनोटमा परेकामध्ये २१९ जना इजरायल पुगिसकेका छन्। उनीहरूमध्ये २० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएपछि आइतबार देखि एक साता उडान स्थगन गरिएको हो ।

इजरायल सरकारले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले १ हजार १७५ जनालाई छनोट गरेको थियो। तीमध्ये दुई चरण गरी २१९ जना इजरायल पुगिसकेका छन्। त्यस्तै‚ गरी ३०५ जनाको भिसा जारी भएको छ। यसैगरी ९९५ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ।

लामो समय रोकिएर सुरु भएको इजरायल रोजगारीमा जाने बाटो खुला भएको छ। इजरायल जाने श्रमिकलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले विमानस्थलमा बिदाइ गरेको थिए।

छनोटमा परेका १ हजार १७५ जनामध्ये ८२१ महिला र ३५४ पुरुष रहेका छन्। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो। इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपियाँ पारिश्रमिक पाउने छन्। इजरायल नेपालीहरुका निम्ति आर्कषक रोजगार गन्तब्य मलुक हो ।

कमेन्ट गर्नुहोस्