कोरोना संक्रमणपछि ब्रेन स्ट्रोकको खतरा, दुई सातामैं ४२ बिरामी अस्पताल भर्ना

पटना, कोरानाको तेश्रो लहरमा संक्रमणमुक्त भएकाहरुमा ब्रेन स्ट्रोकको खतरा देखिएको छ ।

संक्रमणपछि कमजोर भएका मष्तिष्कका नसा फाटन थालेपछि बिरामीको अवस्था बिग्रिने बताइन्छ ।
यसअघि दोश्रो लहरका बेला समेत केही स्थानमा कोरोना बिरामी र निको भएकाहरुमा ब्रेन स्ट्रोकका घटना देखिएको भएपनि यसपटक भने ठूलो संख्यामा ब्रेन स्ट्रोकका घटना देखिएका हुन ।

भारतको पटनास्थित इन्धिरा गान्धी आयुर्विज्ञान संस्थान (IGIMS ) ले यो विषयमा शोध नै गर्नुपर्ने बताएको छ । उक्त अस्पतालमा गत १५ दिनमा ब्रेन स्ट्रोकका ४२ घटनामध्ये ३० जना कोरोना संक्रमणबाट निको भएका बिरामी रहेका छन् । बाँकी १२ जनामा पनि कोरोना भएपनि नदेखिएको हुनसक्ने चिकित्सकहरुको भनाई छ ।

कोरोनाको तेश्रो लहरमा बिहारका अधिकांश बिरामी ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका छन् । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार, पटनामा ब्रेन स्ट्रोकका बिरामीलाई बेड पाउन समेत मुश्किल भएको छ । शनिबार एकैदिन मात्र ८ जना बिरामी भर्ना भएपनि पछिल्लो दुइहप्ता यता ४२ भन्दा बढी यस्ता बिरामी भर्ना भएका छन् । ब्रेन स्ट्रोकका बिरामीलाई आइसियुको आवश्यकता हुने भएकोले समेत बेड पाउन मुश्किल परेको हो ।

IGIMS का मेडिकल सुपरिन्डेन्टेन्ड डा. मनिष मण्डलका अनुसार, संक्रमणबाट मष्तिष्कका नसाहरु कमजोर भएर उच्च रक्तचापका कारण फुटने सम्भावना हुनसक्छ । ४० वर्षमाथिका बिरामीमा यो समस्या बढी हुनसक्ने उनले बताए । पटनाका न्यूरो फिजिसियन एमडी अखिले कुमार सिंहले समेत कोरोनाका कारण नसासँग सम्बन्धित समस्यामा बृद्धि भएको छ । संक्रमण ठीक भएपछि पनि यस्तो देखिरहेको उनले बताए । त्यसैले खानेपिउने कुराका साथै सुगर, ब्लड प्रेसरको नियमित जाँच र शारिरिक कसरतबाट कोरोनाको साइड इफेक्ट कम गर्न सकिने उनले बताए । एकदमै गर्मीबाट एकदमै चिसोमा जान नहुने समेत उनले बताए ।

 

कमेन्ट गर्नुहोस्