उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपणमा खिचिएका तस्बिर सार्वजनिक

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गरेका तस्बिरहरू सार्वजनिक गरेका छन्।

आकाश माथिबाट खिचिएका ती तस्बिरमा कोरियाली प्रायःद्वीप र वरपरका क्षेत्रहरू देखिएका छन्।

उत्तर कोरियाले उक्त बलिस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ १२ रहेको बताएको छ।

जापान सागरमा अवतरण गर्नुअघि त्यो क्षेप्यास्त्र आकाशमा २,००० किलोमिटर माथिसम्म पुगेको दक्षिण कोरिया र जापानले बताएका छन्। यी दुवै देशले प्रक्षेपणको निन्दा गरेका छन्। नयाँ वर्ष आरम्भ भएपछि प्योङ्याङले यो सहित सातवटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेका तस्बिरहरू परीक्षण गरिएको क्षेप्यास्त्रको युद्धशीर्ष मा जडित क्यामराबाट खिचिएको बताइएको छ।

जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्रले ३० मिनेट उडेर ८०० किलोमिटर पर पुगेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षणमा रोक लगाएको छ।

तर उत्तर कोरियाले राष्ट्रसङ्घको प्रतिबन्धलाई नियमित रूपमा अस्वीकार गर्दै आएको छ र नेता किम जङउनले आफ्नो देशको प्रतिरक्षा सुदृढ बनाउने वाचा गरेका छन्।

संयुक्त राज्य अमेरिकाका एक वरिष्ठ अधिकारीले उत्तर कोरियालाई कुनै पूर्वसर्त बिना आफ्नो पारमाणविक र क्षेप्यास्त्र परीक्षणका बारेमा वार्तामा सहभागी हुन आग्रह गरेको रोएटर्सले जनाएको छ।

किमको अनुपस्थिति र प्रक्षेपणलाई व्याख्या गर्न सञ्चारमाध्यमले प्रयोग गरेको भाषाका आधारमा उत्तर कोरियासम्बन्धी विश्लेषक अङ्कित पान्डाले नयाँ प्रविधि देखाउनभन्दा बढी क्षेप्यास्त्र प्रणालीको काम पुष्टि गर्नको लागि यो परीक्षण गरिएको बताए। सन् २०१७ यता पहिलो पटक यति ठूलो पारमाणविक क्षमताको क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो।

आइतवार उत्तर कोरियाले यस वर्षको सातौँ क्षेप्यास्त्र परीक्षण गर्‍यो। यसबाट ज्यानुअरी उक्त देशको क्षेप्यास्त्र कार्यक्रमका लागि सबैभन्दा व्यस्त महिना मध्ये एक बन्यो।

विज्ञहरूले धेरै क्षेप्यास्त्र प्रक्षेपण हुनुको पछाडि धेरै कारणहरू देखाएका छन्। उनीहरूले विश्वव्यापी र क्षेत्रीय राजनीतिक शक्तिको सङ्केत, अमेरिकालाई लामो समयदेखि ठप्प पारमाणविक वार्तामा फर्काउन दबाव दिने नेता किम जङउनको इच्छा, नयाँ प्रविधिको परीक्षण गर्ने व्यावहारिक आवश्यकता र सैन्य आदेश प्रणालीलगायतलाई कारण मानेका छन्।

 

चीनमा हिउँदे ओलम्पिक सुरु हुनुअघि र मार्चमा दक्षिण कोरियाको राष्ट्रपतिको चुनाव हुनुभन्दा ठिक अघि परीक्षण गरिएको समयलाई पनि महत्त्वका साथ हेरिएको छ।

कमजोर उत्तर कोरियाली अर्थतन्त्रले अमेरिकी नेतृत्वमा विभिन्न प्रतिबन्धहरू सामना गरिरहेको, महामारी सम्बन्धित अप्ठेराहरू भोगिरहेको र दशकौँ लामो अव्यवस्थासँग सङ्घर्ष गरिरहँदा क्षेप्यास्त्र परीक्षणहरू भइरहेका छन्।

विश्लेषकहरूका अनुसार यस महिनाको सुरुमा परीक्षण गरिएका क्षेप्यास्त्रहरूले उत्तर कोरियाले यस क्षेत्रमा अमेरिका र जापानले तैनाथ गरिरहेको महङ्गा र जटिल क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छक्याउन सक्ने प्रविधिको विकास गरिरहेको देखाएको बताएका छन् ।

सन् २०१८ मा नेता किमले पारमाणविक हतियार वा यसको सबैभन्दा लामो दूरीको अन्तर महाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) को परीक्षण स्थगन घोषणा गरेका थिए।

तर उत्तर कोरियाली नेताले सन् २०१९ मा प्रक्षेपणमा लागेको प्रतिबन्ध बाध्यकारी नभएको बताएका थिए।

यसअघि ज्यानुअरीमा क्षेप्यास्त्र प्रहार गरेकाले अमेरिकाले उत्तर कोरियालाई थप प्रतिबन्ध लगाएको थियो। जो बाइडन राष्ट्रपति बनेपछि दुई देशबीच वार्ता हुन सकेको छैन।

कमेन्ट गर्नुहोस्