मनाङ घुम्न पर्यटकले अनिवार्य खोप लगाएको हुनुपर्ने

काठमाडौं । हिमाली जिल्ला मनाङ घुम्न आन्तरिक र बाह्य पर्यटकअनिवार्य खोप लगाएको हुनुपर्ने प्रतिबन्ध गरिएको छ ।

जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समितिको बैठकले सम्बन्धीत स्थानीय तह मार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।

शनिबारसम्म शुन्य संक्रमित रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

कर्मचारी र स्थानीयलाई सम्बन्धीत स्थानीय तहले खोपको व्यवस्था गर्नेछ । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् ।

यीमध्ये ४ जनाको मृत्यु भएको थियो । मनाङमा कोभिडको संक्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थीत तालडाडाँमा एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्