चितवनमा सक्रिय भूमि आयोगः प्रचण्डले ४२ वर्षअघि सुकुम्बासी बस्तीका लागि झण्डा गाडेको स्थानबाट लालपुर्जा वितरण हुने

काठमाडौं । चितवनमा भूमि आयोगले लालपुर्जा वितरणको तयारी तीब्र पारेको छ ।

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार, लालपुर्जा वितरणका लागि भूमि आयोग चितवनले स्थलगत निरीक्षण शुरु गरेको छ ।

चितवनको ३ वटा स्थानीय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।
भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैँ लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।

अध्यक्ष तिमिल्सिनाले २०३६ मा नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले भरतपुर १४ नम्बर वडा तत्कालिन शिवनगर गाँउ पञ्चायतको हनुमाननगरको गौचरनमा दलित भूमिहीन र सुकुम्वासीलाई बसाएको ठाँउबाट लालपूर्जा वितरण कार्य सुरुवात गर्ने समेत जानकारी गराएका थिए ।

प्रचण्डले तत्कालिन पञ्चायती शासनमा उक्त गौचरणमा झण्डा गाडेर अन्य जिल्लाबाट आएका दलित, सुकुम्बासी, गरिब जनतालाई बासका लागि वातावरण बनाएका थिए ।

आजदेखि स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइट र नापीका प्राविधिकसहित काम सुरु हुने सो अवसरमा जानकारी दिदै विवादरहित तरिकाबाट सहकार्य गर्न अध्यक्ष तिमिल्सीनाले मेयरहरुसगँ आग्रह गरे।

आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु हुने उनले बताए ।

एउटा टोलीमा १ जना सर्वेक्षक र एक जना अमिनीसहित बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने छ ।
भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

स्थलगत क्रममा भरतपुर महानगरकी मेयर रेनु दाहालले चुनावी अभियानका क्रममा आफुहरुले बोलेको बाचा पुरा गर्न भूमि आयोगका अधयक्ष तिमिल्सिनाको सक्रियता प्रशंसनीय रहेको बताइन ।

कालिका नगरका मेयर खुमनारायण श्रेष्ठले जनतालाई लालपूर्जा दिने अभियानमा आयोग सक्रियता तीव्र बनेकोमा खुसी व्यक्त गरे ।
यस्तै आयोगमा ३० बर्ष अगाडीदेखी सेतो पूर्जा प्राप्त गरेका माडी नगरका २ सय ९७ जनालाई लालपूर्जा दिने प्रक्रिया समेत तत्कालै सुरु हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्