रिक्त रहेका मुलुकमा नियुक्तिको तयारी

काठमाण्डौं । सरकारले राजदुत रिक्त रहेका मुलुकमा नियुक्तिको तयारी गरेको छ ।
ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता गरेपछि चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब, बहराइन लगायतका मुलुक ६ महिना देखि राजदुत बिहिन छन् ।

सरकारले २० मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिका लागि तयारी थालेको हो । यो विषयमा सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति सिफारिसबारे सोमबार बालुवाटारमा छलफल भएको हो ।

नेताहरूका अनुसार आ–आफ्नोतर्फबाट नाम दिन प्रधानमन्त्री देउवाले प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । राजनीतिक भागबन्डाका आधारमा १३ देखि १४ तथा परराष्ट्रबाट ६ देखि ७ जनाको सिफारिस हुनेछ । परराष्ट्र मन्त्रालयले भने कम्तीमा आठजना राजदूतका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत प्रधानमन्त्री देउवासँग दाबी गरेको सम्बद्ध स्रोतले बतायो । पराष्ट्र मन्त्रालयका सातजना सहसचिवहरूको नाम कात्तिक अन्तिम साता नै मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको स्रोतले बतायो ।

सरकारले भारत, अमेरिका र बेलायतका लागि भने राजदूत सिफारिस गरिसकेको छ । बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् भने भारतका लागि सिफारिस डा. शंकर शर्मा र अमेरिकाका लागि सिफारिस श्रीधर खत्रीको एग्रिमो आउन बाँकी छ । सरकारले असोज पहिलो साता भारतबाट राजदूत नीलाम्बर आचार्य, अमेरिकाबाट डा. युवराज खतिवडा र बेलायतबाट लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएको थियो ।
कांग्रेसको कोटाबाट महत्वपूर्ण मुलुकहरू बेलायत, अमेरिका र भारतमा राजदूत सिफारिस भइसकेका कारण अब कांग्रेसले महत्वपूर्ण मुलुक पाउनेछैन । स्रोतका अनुसार चीन माओवादीको भागबन्डामा र जापान एकीकृत समाजवादीको भागबन्डामा पर्ने सम्भावना छ । जसपाले बंगलादेशका लागि राजदूत पाउने सम्भावना छ ।

हाल विभिन्न मुलुकमा नेपालका ३० राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि तीनवटा स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । ३३ राजदूतमध्ये परराष्ट्र सेवाका १० जना कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्