काठमाण्डौ। शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले नयाँ योजना दिएर कार्यान्वयनमा जान निर्देशन दिएका छन्। उनले देशका ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहितको छलफलमा विश्वविद्यालय सुधारका योजना बनाउनुपर्ने र त्यतातिर ध्यान दिन आग्रह गरेका हुन्। उनले भने मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ ।
वार्षिक एक खर्बभन्दा बढी रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको भन्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिए ।
विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सिर्जना गरी त्यसका लागि केही समस्या भएमा मन्त्रालयले समाधान गर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता शैक्षिक क्यालेन्डरको व्यवस्था गरी कडाइका साथ पालना गर्ने बताए ।
उनले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने गरेको प्रति गुनासो गरेका थिए ।