तनावग्रस्त मैत्रीपूर्ण खेलः नेपालका म्यानेजर र दुबै टीमका खेलाडीसहित ४ जनालाई रातो कार्ड

काठमाडौं । नेपाल र मरिससबीच भएको मैत्रीपूर्ण खेलमा तनाव सिर्जना हुँदा ४ जनाले रातो कार्ड पाएका छन्।

दशरथ रंगशालामा भएको खेलमा नेपाली फुटबल टिमका म्यानेजरसहित तीन अन्य खेलाडीलाई रेफ्री नवीन महर्जनले रातो कार्ड देखाएका थिए।

पहिलो हाफमा खेल सामान्यरुपमा भए पनि दोश्रो हाफपछि दुबै टीमका खेलाडीले फल गर्ने क्रम बढेको थियो। शारीरिक बल प्रयोग गर्ने र हातपात बढेपछि पहेलो कार्ड पाएका खेलाडीहरु नै खेलको ७१ औं मिनेटमा एक आपसमा भिडेपछि नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाए। खेलमा तनाव उत्पन्न हुँदा मैदान प्रवेश गरेका नेपाली टीमका म्यानेजरलाई समेत रातो कार्ड देखाइएको थियो।

त्यस्तै ८० औं मिनेटमा मरिससका इमानुएल फलचन्दले रातोकार्ड पाएका थिए। खेलमा मरिससका २ खेलाडीले रातो कार्ड पाएपछि टीम ९ जनामा सीमित बनेको थियो।

खेलमा नेपालले १ः० ले अग्रता लिँदै टीमलाई मैत्रीपूर्ण खेलको विजेता बनाउन सफल भएको छ। यसअघि भएको पहिलो खेलमा समेत नेपाल १ः० ले विजयी भएको थियो।

कमेन्ट गर्नुहोस्