नक्कली पिसिआर रिपोर्ट बेच्ने अस्पतालका ल्याब टेक्निसियन पक्राउ

काठमाण्डौं । कोरोना संक्रमण पजिटिभ आएका व्यक्तिहरूबाट रकम लिएर नेगेटिभ पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले भक्तपुरको नागरिक कम्युनिटी अस्पताल र तिनकुनेको कान्तिपुर अस्पताल माथि अनुसन्धान थालेको छ।

महाशाखाले ती अस्पतालभित्र ल्याबमा कार्यरत चारजना कर्मचारीलाई पक्राउ गरेको छ। अस्पतालले फोटोको आधारमा पिसिआर रिपोर्ट तयार गरी १५ हजार रुपैयाँमा बेचेको प्रमाण भेटिएको महाशाखाले जनाएको छ। कोरोना संक्रमण पजिटिभ आएर विदेश जान नपाएका व्यक्तिलाई नेगेटिभ पिसिआर रिपोर्ट दिएको भटिएको प्रहरीको भनाई छ ।

कोरोना संक्रमण पोजिटिभ आएकाहरूलाई पनि नेगेटिभ रिपोर्ट बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको हो । ल्याबमा कार्यरत कर्मचारी र नेगेटिभ रिपोर्ट दिने भन्दै ग्राहक ल्याउने बिचौलियालाई महाशाखाले पक्राउ गरेको छ। उनीहरूलाई केहीबेरमा सार्वजनिक गरिने बताइएको छ।
प्रहरीले अनुसन्धान थालेपछि दुवै अस्पतालका सञ्चालक भने फरार भएका छन्।

कमेन्ट गर्नुहोस्