धनगढीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक घाइते

काठमाण्डौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच धनगढीमा झडप भएको छ। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसग झडप भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको हो। झडपमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए। यता जिल्ला प्रहरीले भने सामान्य धरपकड मात्रै भएको बताएको छ।

 

अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन्।

मंगलबार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको थियो। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

कमेन्ट गर्नुहोस्