ई–पासपोर्ट बनाईदिन्छु भन्दै ठग्ने युवक पक्राउ

काठमाण्डौं । ई–पासपोर्ट बनाइदिन्छु भन्दै ठगेको आरोपमा प्रहरीले एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्ने सुनसरीको इटहरी उप–महानगरपालिका–५ घर भएका ३५ वर्षीय मनोज सापकोटा हुन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आएका सर्लाहीका सोमबहादुर स्याङतानलाई उनले ‘सहज रुपमा पासपोर्ट बनाइदिउँला’ भनेर १२ हजार रुपैयाँ लिएर भागेका थिए । ठगेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

माघ १८ मा इ–पासपोर्ट बनाउने ठाउँमा स्याङतानलाई भेटेर सापकोटाले पैसा लिएका थिए । काठमाडौंको संगमचोक बस्ने आरोपी विरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सहज छरितो रुपमा सेवा नपाउँदा विभिन्न सरकारी कार्यलयमा सेवाग्राहिहरु दलालहरुबाट ठगिने गरेका छन् ।

कमेन्ट गर्नुहोस्