सहमति जुटाएर मात्रै एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

 

राष्ट्रिय सहमति जुटाएर मात्रै एमसीसी पास वा फेल गरिने दाबी परराष्ट्रमन्त्री डा.नारायण खड्काले गरेका छन् । मन्त्री खड्काले २०६८ सालयता गठित सबै सरकारले एसीसीलाई अघि बढाएको बताउँदै सरकारमा हुँदा पास गर्न तम्सिने र विपक्षमा हुँदा गिजोल्ने काम भएको बताए । यो कुरा उदयपुरको चौदन्डिगढी नगरपालिकाको शनिवार उद्घाटन गर्ने क्रममा बताएका हुन् ।

उनले यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय चुनावको मिति तोक्नेसमेत बताए ।उद्घाटनपछि भोलिदेखि अौपचारिक रूपमा नयाँ भवनबाट कार्यालय सञ्चालनमा आउने भएको छ । यसअघि नगरपालिकाले तत्कालीन बेलटार गाउँविकास समितिको कार्यलय भवनबाट सेवा प्रदान गर्दै आएको थियोे ।

अपांग मैत्री,लिफ्ट सेवासमेत रहेको साँढे दुई तले नवनिर्मित भवनमा ५० जना अटाउने सभाकक्षसहित ४३ कोठा रहेको छ । करिब ६ करोड रूप‌याँको लागतमा बनेको भवन निर्माण कार्यको जिम्मा वर्ल्ड वाइड रामसागर जेभी कम्पनी काठमाडौंले पाएको थियोे । सोही अवसरमा मन्त्री खड्काले १५ शैयाको आधारभूत अस्पतालको पनि शिलान्यास गरेका छन् ।

सो अस्पतालको लागत करिब १३ लाख रूपैयाँ रहेको छ । सो अवसरमा नगर प्रमुख खगेन्द्र राईले गाउँ गाउँमा सिंहदरबार नभएर जनताको दरबार बनाइएको बताए । उनले नीतिगत अस्पष्टता र राजनीतिक खिचातानीका कारण विकासका कामले गति लिन नसकेको दाबी गरे ।

कमेन्ट गर्नुहोस्