काठमाडौं । टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ। टर्की सरकारका एक मन्त्रीले टर्कीबाट ग्रीसतर्फ प्रवेश गर्न खोजिरहेका आप्रवासीहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको बताएका हुन्।
टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुले ट्वीटरमा मृतक कुन देशका हुन् भन्ने नखुलेको तर ग्रीसको सीमानजिकै चिसोले उनीहरुको मृत्यु भएको लेखेका छन्। चिसोले मरेका ती व्यक्तिहरुको बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरुले बताएका छन्।
कतिपय आप्रवासी जुत्ता/चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको बताइन्छ। यस घटनापछि टर्कीका मन्त्री सोयुलुले युरोपेली युनियनले मानवीय व्यवहार नदेखाएको आरोप समेत लगाएका छन्।
उता ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको भन्दै उक्त आरोपको खण्डन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले लेखेका छन्। ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दुःखद हो। उनीहरू ग्रीस छिर्न खोजेका थिएनन्।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन्। टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको ‘वास्तविक तस्बिर’ उजागर गर्ने बताएका छन् ।
Tarih: 2.2 2022
Yer: İpsala Yunanistan SınırıAyakkabıları çıkarılmış, elbiseleri soyulmuş Yunan sınır birlikleri tarafından geri itilmiş 22 göçmenden 12’si dondu
AB çaresiz, cılız ve insanlıktan yoksun.
Yunan sınır birlikleri, mağdura cani,
FETÖ’ye müşfikAllah rahmet eylesin pic.twitter.com/yBFObmdSxk
— Süleyman Soylu (@suleymansoylu) February 2, 2022
पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ। ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो।
पछिल्लो घटनामा नेपाली नागरिक परे/नपरेकोबारे बुझ्ने काम भइरहेको टर्की मामिलासमेत हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए।
टर्कीको राजधानी इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङले उक्त घटनामा नेपाली र बंगाली नागरिक पनि परेको हुन सक्ने बताएका छन्। एक जना नेपाली चार दिनदेखि ग्रीसको सीमा नजिकै पुगेपछि हराइरहेको भनेर नेपालबाट आफन्तले सन्देश पठाएको उल्लेख गर्दै घिसिङले घटनाका बारेमा बुझ्ने प्रयास गरिरहेको बताए।
वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर-२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवारले सोधखोजका लागि हारगुहार गरेका छन्। इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका आफन्तले बताएका छन्।