प्रदेश १ मा आज मन्त्रीमण्डल बिस्तार, ७ मन्त्रालय फुटाएर १३ बनाइयो

बिराटनगर, प्रदेश १ मा सबै दललाई भागबण्डा पुर्याउन मन्त्रालयको संख्या १३ पुर्याइएको छ । मन्त्रालयको संख्या बढाएसँगै आज नयाँ मन्त्रीहरु नियुक्त हुनेछन् । नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम छ ।

यस अनुसार मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना रहनेछन्।

आज भने मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट थप तीन जना, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट दुई/दुई जना मन्त्री बन्न लागेको बताईएको छ ।

संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो।

साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्।

झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा छन्।

नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ। खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लागेका छन्।

जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एकेक जना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए।

सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।

कमेन्ट गर्नुहोस्