प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

कोरोना संक्रमित देखिएपछि २९ दिन अघि उनी अस्पताल भर्ना भएकी थिइन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

९२ वर्षीय लता मंगेशकरले ३६ भाषामा ५० हजार भन्दा बढी गीत गाएकी छिन् । मध्यप्रदेशको इन्दोरमा २८ सेप्टेम्बर १९२९ मा जन्मेकी लता मंगेसकरले १३ वर्षको उमेरदेखि नै गीत गाउन शुरु गरेकी थिइन । आठ दशकसम्म लगातार संगीतका क्षेत्रमा सक्रिय उनीलाई भारत रत्नलगायत कैयन् सम्मान समेत दिइएको थियो । भारतीय संगीत उद्योगमा लता मंगेशकरलाई एउटा विशिष्ट स्थान प्राप्त थियो । सन सत्तरी, असी र नब्बेको दशकमा लता मंगेशकरको गायनबिना कुनै पनि गीत चर्चित हुन नसक्ने अवस्था समेत सिर्जना भएको थियो । उनको अन्तिम गीत २०१५ मा डुन नो व्याइ फिल्ममा थियो ।

कमेन्ट गर्नुहोस्