आज ४ बजे देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं । सदनमा जारी गतिरोध अन्त्य गर्ने विषयमा आज प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

सदनमा एमालेले कायम राखेको गतिरोध अन्त्य गर्ने तथा एमसिसीका बारेमा छलफल गर्न तीनैजना नेता वार्ताका लागि तयार भएका हुन ।

यसअघि सदनको गतिरोध अन्त्य गर्न एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री र अन्य नेताहरुले बारम्बार छलफल गरेपनि सकारात्मक निष्कर्श निस्केको थिएन । लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको नेकपा एमालेका अध्यक्ष ओली यसपटक भने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफलका लागि तयार भएका हुन ।

आजको बैठकमा सदनको गतिरोध अन्त्य गर्ने तथा एमसिसीलाई पारित गर्ने विषयमा माओवादी केन्द्रले भन्दै आएको राष्ट्रिय सहमतिका बारेमा छलफल हुने बताइन्छ ।

नेकपा माओवादी केन्द्रले एमसिसी परियोजनालाई यथास्थितिमा सदनबाट पारित नहुने मत राख्दै आएको छ । नेकपा एमाले र नेपाली कांग्रेस भने यसलाई पारित गर्नुपर्ने पक्षमा छन् ।

कमेन्ट गर्नुहोस्