बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबीच वार्ता शुरु

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सत्तारुढ गठबन्धनको अर्को प्रमुख दल नेकपा माओवाद िकेन्द्रका अध्यक्ष प्रचण्ड र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग छलफल शुरु गरेका छन् ।

अहिले अपरान्ह ४ बजेका लागि बोलाइएको छलफल बालुवाटारमा शुरु भएको हो ।

आज बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा स्थानीय निर्वाचनको मिति निर्धारण तथा सदनमा जारी गतिरोध अन्त्यका लागि प्रतिपक्षसँग समेत छलफल गर्ने सहमति जुटेपछि अहिलेको बैठक आयोजना गरिएको थियो ।

आजको बैठकमा एमसिसी परियोजनाका बारेमा समेत छलफल हुने बताइएको छ ।

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली झण्डै साढे सात महिनापछि बालुवाटार जाँदैछन् । उनी गत असार ३० गते बालुवाटारबाट निजि निवास बालकोट सरेका थिए ।

सदनमा जारी अवरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले प्रत्यक्ष भेटका साथै टेलिफोनमार्फत समेत ओलीलाई बारम्बार आग्रह गरेपनि एमालेले सदनको अवरोध हटाएको छैन । प्रधानमन्त्री देउवाले यसअगाडि पटकपटक राखेको सर्वदलीय बैठकमा ओली उपस्थित भएका थिएनन्। ओलीलाई बालकोटस्थित निवासमै पुगेर केही दिनअगाडि प्रधानमन्त्री देउवाले भेटघाट गरेका थिए।

आजको बैठकमा सदनको गतिरोध अन्त्य गरि सहज वातावरणमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा ठोस कुरा हुने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्